सपनामा


मध्यरातमै ब्यूँझिएँ आफ्नै ओछ्यानमा ।

पात झरेको तर पाउलीन नपाएको
देखेँ, रूखजस्तो सपना ।

त्यहि रुखको टुप्पोबाट
सिङगो समुन्द्रबाहेक
बिभाजित देशका रेखाले कर् याङमर् याङ कोरिएको
फुत्त निस्कियो भोगटेजत्रो टुक्रे पृथ्वी

एउटा रेखाभित्रको देशमा अटाएको सानो गाउँ
उभियो मेरो छेउमा आएर ।

गाउँमा देखिन थाले-

बाटो विराएको बटुवाका पदचाप

उठेपछि छातीबाट ज्वारभाटा
रुँरुँ लाग्ने धूनले
रातभरि
फेरिरह्यो आँखामा कोल्टो
बजिरह्यो विरही धूनमा बाँसुरी ।

घाम पछ्याउँदै खोलाको तीरैतीर
जून उकालो लागिरहेको बेला
अड्काएर खोला अञ्जुलीमा
नुहाइरहेथ्यो जोगीले यौवन ।

सुईसुई सुस्केरा दिँदै चियाबारीको थुम्कोबाट
सुन्तलाबजारतिर दौडिरहेका
युवकयुवतीमाथि ओछ्याएर छायाँ
गुँइइय गर्दै डाँडो काट्दै थियो हवाईजहाज ।

त्यसैबेला
हरायो लाहुरेको कहानी गाउने सारंगीको तार
हराए भरीया र रोदी गाउने ठिटी
चिसिएपछि शीतलहरले
कोक्रो बिसाएर बारीको डिलमा
बाँझो बारी खनेथे सुत्केरीहरूले
नाम्लो बाँधेर कम्मरमा
काम खोज्न घर टाढा जाँदै थिए तन्नेरी ।

विदेशिएका छोराछोरीको तस्बिर
राखेर बैठक कोठामा
उनीहरूको जन्मदिनको दियो बाल्ने आमाबा
अबेलासम्म जून हिँडेर मेटिएको ।

अन्दाज लगाउँदै गोरेटोको
तिनै छोराछोरी खेल्ने र उफ्रने बार्दलीमा बसेर
गर्थे मुखामुख
पोकापोकी पारेर जिन्दगी फिरन्ते बिहानी चरो
फिरफिरेका पातमा संगीत खोज्दै जीवनको
चुँडेर आफ्नै प्वाँख खोलाकिनारमा
गीत गाउँदै थियो ढुंगा ब्यूँझने गरी ।

त्यहीबेला हिउँले ढाकिएको गोठमा
ताप्दै आगो
टक्य्राकटुक्रुक बसेका किसान बूढाबूढी
पल्याकपुलुक हेर्दै यताउति ठोसिरहेथे आगो

म ब्युँझनु अघिसम्म
पात झरेर पनि पाउलीन नपाएको रुख
उसैगरी उभिरहेथ्यो थेगेर भोगटे जत्रो बिभाजित टुक्रे पृथ्वी ।

No comments: