प्रा. अभि सुवेदी
हिजोआज काठमाडौंमा हाम्रा नाट्य थेटरहरूमा अनेकौं शैलीमा लेख्ने कविहरूले कविता पाठ गर्ने चलन बसेको छ । गुरुकुल कालदेखि नै बसेको हो, यो चलन । काठमाडौंका केही रङ्गमञ्चहरूले आफ्ना मासिक क्यालेन्डरमा नै कविता पाठको तिथि तोकेका हुन्छन् । यस अर्थमा म यस चलनलाई कविता प्रस्तुतिको नाट्यचरित्रको खोजीको रूपमा हेर्छु । मञ्चमा पढिनुले स्थान र प्रस्तुतिको सम्बन्ध देखाउँछ ।
रङ्गमञ्चको स्टेजको रचना, माथि काला बत्तीहरूबाट खस्ने प्रकाशका मुस्लोहरू, स्पटलाइट अनि आकारहरूमाथि कुदिबस्ने राँके उज्यालोमुनि कविता पढ्न रुचाउँछन् कविहरू । म सबैजसो पाठहरूमा जान सक्तिन, तर अनेकौं पाठहरूमा गएको छु । कविताका विमोचनहरूमा पनि यदाकदा जान्छु, सबैमा जान्न । एकाध काव्य चर्चाले मलाई छुन्छन् । मूल विषय कविताको प्रयोजन र अस्तित्व हो । अहिलेको विश्वमा हामीले सुनिआएको र परिणाम भोगिआएको विषय युद्धका विभीषिकाको हो । कविता लेख्ने के विशेष समय हुन्छ ? विस्फोटक कालमा कविता लेखिन्छ ? जस्ता प्रश्न सोधिए बीसौं शताब्दीमा । नेपालमा पनि अप्ठेरा परिस्थिति आए । तर छापामारदेखि लिएर भिक्षुले, शिक्षकले, प्रेमीले, इको संरक्षण गर्ने सबैले कविता लेखिआएका छन्, नेपालको सङ्क्रमण कालमा । इच्छुकजस्ता कवि सहिदै भए । त्यसैले कविताको विषयमा नेपालमा भन्ने कुरा मलाई यस्तो लाग्छ । यो अत्यन्त प्रयोग भएको र जीवन र अनुभवका अनेकौं क्षणहरूमा हामीले लेखेको विधा हो ।
एउटा प्रसङ्ग ल्याउँछु । दोस्रो विश्वयुद्ध सकिएको लगत्तै सन् १९४९ मा थियोडोर एडोर्नो (१९०३-६९) भन्ने जर्मन दार्शनिक, सङ्गीतकार, समाजशास्त्रीले हिटलरका यातना शिविरमा भएका नरनारी र बालकका हत्याले भत्किएर घोषणा गरे, अबउप्रान्त कुनै कविता लेख्ने काम छैन । त्यसो गर्नु नै पाशविकता हुनेछ । तर एडोर्नोकै मित्राणी इङ्गबोर्ग बाखमनले त्यही पाशविकताले भत्केको जीवनलाई पीडाबाट मुक्त हुने र प्रेरित गर्ने प्रगितात्मक काव्य हो, लेख्नुपर्छ भनिन् र लेखिन् । मंसिर एक गते मण्डला थियटरमा भएको हाङयुग अज्ञातको होङोङ शृङ्खला कविता विमोचनको छलफलमा दुई वामपन्थी लेखकहरू खगेन्द्र सङ्ग्रौला र आहुतीसँग थिएँ । खगेन्द्र भाइले कविता कतिसम्म नबुझिने हुनसक्छ भन्ने यदुनाथ खनालको प्रश्न उजागर गर्दै भने, कविताको प्रयोजन छ, तर त्यो ग्रहणयोग्य अवस्थामा हुनुपर्छ । आहुतीले अज्ञातको कवितासँग जोड्दै भने, कविता रचना पद्धति हो र त्यसमा विचार र चिन्तासँग भाषाको रचना पद्धति युक्तिसङ्गत हुनुपर्छ । मलाई फेरि पनि लाग्यो, कविताको एडोर्नाे र बाखमना मतहरूको जस्तो बहस नेपालमा सार्थक छ । अर्को एउटा प्रसङ्ग निकाल्छु ।
यही मंसिर बीस गतेको दिन शिल्पी थियटरमा भएको सङ्गीतश्रोता र विराटनगरकी कवि सीमा आभासको कविता पाठमा गएको थिएँ । सङ्गीतश्रोता एक युवक कवि हुन् । यिनलाई मैले यिनी 'नयाँ पत्रिका'मा काम गर्दादेखि चिनेको हुँ । यिनले र अर्का युवक, यिनका मित्र दीपक सापकोटाले मसँग अनेकौंपटक अन्तर्वार्ता र कुराकानी गरेका थिए । म यी युवाहरूबाट आफ्ना लेखनमा ऊर्जा भर्न अनेकौंपटक प्रेरित पनि भएको हुँ । सङ्गीतश्रोता वामपन्थी विचारक र लेखक हुन् । प्रगतिशील लेखक संघका सक्रिय मानिस हुन् । यिनले मलाई यस संघका कार्यक्रममा बोलाएर बोल्न लगाए, अनि मेरा स्वतन्त्र विचारहरू संघको सङ्कलनमा पनि छपाए । मेरो सङ्गतबाट बुझेअनुसार यी आफ्नो विचार र अरुको विचारमा अन्तर देख्छन्, तर साक्षात्कार गर्दा स्वतन्त्र भएर गर्छन् । त्यसो गर्न नसक्ने सिर्जनशील साहित्यकार हुँदैन । मेरा विचारहरूले यी युवा कविलाई कहीं आश्चर्य र केही उत्सुकता भएको कुरा समावेश गरेर मेरो नामको शीर्षक राखेर यिनले कविता गरेका छन् । त्यस दिन पनि सुनाए अनि यो 'पाण्डुलिपि' सात अङ्कमा ममाथिको विशेष खण्डमा पनि छापिएको छ । मलाई यो कविता मनपर्छ, किनकि यसमा सङ्गीतश्रोताले देब्रेत्वलाई एउटा यात्रा, प्रयास र विचारको रूपमा लिएका छन् । तर मैले यो आफूलाई लिएर अमूक कविताको पात्र भएर लेख्नुको अर्थ हुँदैन । एउटा कविताको पात्रले आफू ठानेर बोल्नु एउटा व्यतिरेकी हो । म त्यो पात्र हुनसक्छु, तर जटिल बन्छु, किनकि पात्र एक अस्थिर नाट्य गतिको विम्ब हो । पात्रलाई कविले विम्बका सान्निध्यबाट हेर्छन् । सङ्गीतश्रोताले कविताका विम्बहरू रोजेर त्यो भाषिक र लयको संयोजन गर्दा त्यो कविता निकै जटिल भएको छ ।
देब्रे र दाहिनेको द्वैतता सङ्गीतको कविताको विषय हो । मजस्तो अनौठो अराजक मानिसको देबे्रत्वको ठेगान नलाग्नु स्वाभाविक हो । मेरो देब्रेढल्कन सोझो छैन । माक्र्स र ट्राटस्कीका देब्रे विचारका आफूलाई हल्लाउने कुराले शिक्षित भएको लाग्छु, म आफूलाई । अनि मलाई विश्वेश्वरप्रसाद कोइरालाले साहित्य, अर्थनीति र साधारण मानिसका कर्मको विषयमा राखेका अराजक विचार सर्वथा देब्रे लागे । मलाई उनको दल वा अरुले पनि कोइरालालाई बुझेजस्तो लाग्दैन । माओवादी नेता प्रचण्डले मिडियामा देखे-बुझेअनुसार विश्वेश्वरप्रसाद कोइरालालाई आफ्नो अमूक कुराको आदर्श मान्ने र तिनका विचारको महत्त्व गर्ने अधिविचारलाई म देब्रेपट्ट िनै भएको देख्छु । कोइरालाको यही इतिहास र चिन्तन अनि साहित्यभित्रको अनि अदालतमा साधारण पीडित मानिसको मुक्तिको पक्षमा बोलेको विचारले मलाई निकै हल्लायो । राजनीतिक चिन्तक नभएकोले एउटा अनिणिर्त द्वन्द्वभित्र पसेंँ । अनि एउटा 'सान्दाजुको महाभारत' भन्ने लामो नाटक लेखेंँ । अहिले निर्देशक सुनील पोखरेल यसको मञ्चनका आधार बनाउँदैछन् क्यारे ।
प|mान्ज फाननको 'यस धरतीका अभागी', गियोर्गो आगाम्बेनले व्याख्या गरेको देउते बोको पारेको निरीह मानिस, प्रजातान्त्रिक वा समाजवादी हुँ भनिबस्ने शक्तिशाली देशहरूले यातना शिविरहरू राखेर यातना दिएका मानिस, पैसा तिरेर अरु ठाउँमा यस्ता शिविर खुलाउने तथाकथित प्रजातान्त्रिक शक्तिहरूका कृत्य, मानिसको उसकै परिवारका अगाडि भएका यातना र हत्या, आफ्नै सुतिखेती गरी बसेको किसानकोमा
राज्य र राजनीति पुगेर मद्दत नगरी उल्टो तिनमाथि थपेका पीडाहरूको संचेतनाले मलाई चल्तीको बाटो नमान्ने शक्ति आएको हो । पीडितहरूका चित्र विविध हुन्छन् । नेपालमा अनेकौं विषयमा बहस भएका छन् । तर दलित विषयको राजनीति र समाजको धारणा एउटा सबैले बचाएको विभेदकारी संस्कृतिको नैरन्तर्य हो भन्ने मान्छु, म ।
विचार गरेको बेला कसैले आफ्नो कठालोमा समातेको छ भने म त्यसलाई सकेसम्म फाल्छु । म खासै एउटा दलको अनुशासित पद्धतिभित्र पर्दिन । यहाँ पनि विचार र मुक्तिको प्रश्न उठ्छ । राजनीतिको प्रयोग राम्रो भयो भने त्यसले नै काम दिने हो । देबे्र वा दाहिने जता होस्, ढल्किंँदा धेरै ढल्कियो भने ढल्किने प्रक्रिया नै बन्द हुन्छ, किनकि लडिन्छ । अर्कोतिर देब्रे के हो भन्ने प्रश्न जटिल हो, जसको छलफल यस लेखमा गर्न सकिँदैन । सङ्गीतश्रोताका कविताहरूमा चरित्र, व्यङय, ऐतिहासिक समय र हरदैनिकी अनेकौं किसिमले आइरहन्छन् । उनका त्यो दिन सुनाएका कवितामा प्रस्ट उक्ति भएका र झन्डै स्वप्निल शैलीका विम्बात्मक रचना पनि सुनिए । उनको ढोकामा खट्खटाउन आउने तारकहरूका सपना बोकेको अनि अनौठा संयोजन बोकेर हिँड्ने कवि आखिर म नै रहेछु भन्ने उनको अधिचेतना तीव्र र काव्यिक छ । नारीका अवस्थामाथि पनि तिनले तीक्ष्ण कविता सुनाए । कुनै दल र अमूक देब्रे ढल्कनलाई कविताको विषय बनाएर कविता लेख्ने वा स्वतन्त्र माक्र्सेली सिर्जनशील कवि भएर लेख्नेको मोडमा छन् यी । यिनको काव्यिक प्रतिभा मौलिक छ, पढेका र सुनेका छौं । मलाई पि्रय लाग्ने माक्र्सेली कवि पाब्लो नेरुदा, नाजिम हिक्मत, भाहेहोले मुक्ति र विश्वासका चुनौतीबाट सिकेको प्रेरक र मार्मिक कथा सम्भिmन्छु ।
सीमा आभासका कवितासँग निकै समयदेखि परिचित छु । तिनका कविताको उक्तिको शक्ति र संयोजन शक्तिशाली थियो । तिनले त्यसरी विम्ब र संचेतनाको संयोग गर्छिन् भन्ने मैले ख्याल गरेको रहेनछु । विपन्न नारीको चित्रण गर्ने यी हरपहरू उच्च कोटीका काव्यिक प्रयोग हुन्, 'आँखाका ढकनीमाथि जाँतो घुमाएर रातको निद्रा बिथोल्थी/ मजेत्रोको भ्वाङबाट घाम हिँडाएर सङ्घारबाट छिराउँथी/ हत्केलाका रेखाहरू भुइँमा दलेर मझेरी सिँगार्थी' जस्ता अत्यन्त बलिया काव्यिक अभिव्यक्ति सुनिए, उनका कवितामा । पुलकित भएँ । 'चराले बोकिहिँड्ने गीत'मा तिनको काव्यले इकोकाव्यका सूक्ष्म पात्र चराहरू र आकासको चित्रण गरिन् । योगमायाको काँचो वायुमाथि लेखेको कवितामा तिनले इतिहास र चेतना अनि विद्रोहका अनौठा र हल्लाउने विम्बहरूका प्रयोग गरिन् । 'श्रीमान् ! न्याय पाऊँ उपस्थित छु, इजलाससामु/ आफ्नै विरुद्धमा'बाट सुरु भएको कवितामा तिनले संयोजन गरेको पहिचान र विश्वासको काव्यिक प्रयोग गरिन् । 'म स्त्री अर्थात् आइमाई'मा सीमाले समवेत स्वरको पनि प्रयोग गरेकी थिइन् । यसरी सीमा आभासका कविताको व्ौविध्य, प्रयोगशीलता र सिर्जनशील उक्तिको प्रयोगले अनि उनको कविता पाठको प्रस्ट, उच्च र लयात्मक मानवीय संवेदना भएको स्वरले श्रोतालाई समातेको थियो । यी दुवै कविका कविताले त्यस दिनको युगल कविता वाचन एउटा स्मरणयोग्य साहित्यिक अनुभव भएको थियो ।
मजेत्रोको भ्वाङबाट छिरेको घाममा जीवन हेर्नेका चेतना काव्यिक हुन् भन्दै निस्केंँ, त्यो दिन ।
http://www.ekantipur.com/np/2071/8/29/full-story/400324.html
No comments:
Post a Comment