आमा

कुनै बलवान आँधीले हल्लाउन नसकेको उनको शरीर   
कुनै रिसाहा घामको रापले पोल्न नसकेको उनको हृदय
नीलो बनेर फैलिएको बिहानको आकाशभन्दा कम छैन


उनले नियालेको बाटो
आदिमदेखि वर्तमानसम्मका कुनै तिर्थयात्रीले पुरा गर्न सकेका छैनन ।
उनी चैत्य, मस्जिद र मन्दिरभन्दा कम पवित्र छैनन

उनका औलाहरु बलीरहेको आगोले पोल्न सकेन
जुठा भाँडामा उनलाई डुबाउँदा अपवित्र पार्न सकेन

उनी सुत्केरी रगतको आहालमा डुब्दा
ढोकाको संघांरमां मृत्युले चिहाएको थियो
उनी चिच्च्याएको सुनेर बेपत्ता बन्यो मृत्यु
उनको शरीरभरि दुध कुहेका अमिला गन्धहरु खन्याइए
विकारका फोहोरी गन्धहरु खन्याइए
तर उनको शरीर शीत जत्तिकै निर्मल रहिरह्यो

उनीमाथि पहाड ल्याएर बिसाइयो
पहाडमुनि कुच्चिएर
उनका आँखाले आशाको क्षितिज नियालीरह्यो

वनका लागेका निभ्नै नसक्ने डढेलाहरु
उनका आँसुले निभेका छन
बाफिएका मौसमहरु शितल बनेका छन
हामीमाथिको आकाश जल्दा
कोक्रो बोकेर आगो निभाइरहेकी
उनी मेरी आमा हुन ।

No comments: