अज्ञात शोकहरु

सिस्नु झ्याङ्गबाट
सर्पहरु स्याँ गर्दै आइरहेछन्
दुबोका हरिया चौरतिर
पर्याप्त विष लिएर ।


एउटा सुन्दर युवक
ठूलो ढुङ्गामाथि उभिएर
कालो जंगलका धमिला गोरेटाहरु
साँझका कलिला आँखाले हेर्दै
सुईया सुस्केरा छोडेर
हराउँछ कुनै अज्ञात स्थलतर्फ ।

जंगलमुनि सुतेका सेता घरहरु
मध्यरातमा ब्युँझन्छन्
ताराको निरीह प्रकाशसँगै
बगिरहेका नदीको आवाजसँग
मिसिन खोज्ने सहाराहिन सुस्केरा सुन्न ।

शोकको धुनसँग ओछ्यान छोड्ने
घामका लालीमाहरु
मलामी जान तर्खर गर्दै पग्लिएका
हिमालका चुचुराहरु
स्वंयभुको पेटीमा उभिएर
ओरालो लागेको
कालो धजा टाँगिएको टाँगाको लस्कर
टीठलाग्दोसँग हेर्दै
कुनै अज्ञात युवकलाई सम्झन खोजिरहेछन् ।


हरिया घोडाहरु
एकहुल युवतीका आँखामा उभिएर
सिस्नु झ्याङ्गबाट
सर्प हंडेका गोरेटा खोज्दै
अघि बढ्छन् र हिन्हिनाउँछन्
कलिला हात कुल्चेर ।

हरेक रात सुस्केरा मिसिएका
नदी आवाजसँगै बगिरहेछन्
युवती कुल्चिएका शब्दहीन पीडाहरु
जंगलमुनि सुतेका घरका त्रासहरु
अज्ञात स्थानमा हराएका युवकहरु ।

No comments: