रातो समय

शितका थोपाबाट
आगो बलीरहेको
रातो समयमा
थोत्रो झुपडीको अँगेनामा
हिउँका चम्का जोडेर
खोक्तै आगो फुकिरहेकी छिन्
बूढी आमै ।


साँझको संघारबाट
तरुनी छोरी हराएको
धेरै भइसक्यो ।

राँको बालेर खोज्ने सपना
जिउँदी छोरीको अनुहार
आँखाभरि भरेर कल्पिन्छिन्
छोरी बलात्कृत भई
योद्धा बनी
या
झण्डा ओढेर बेहोस निदाइरहेकी छे
आफ्नै समाधिस्थलमा

आँसुसँगै
गालाभरि पोख्छिन् मातृप्रेम
आँचलले गाला पुछ्तै-पुछ्तै
राताम्य बन्छिन् र सम्झिन्छिन्
छोरी हराएको साँझ ।

सपनाभरि देख्छिन्
रातो क्षितिज पुछिएर
सिउँदोबाट बग्दै-बग्दै
यौबन समयको काँध चढेर
घर फर्किएकी उही यौवना छोरी ।

सपना भत्किनासाथ
आफैंमाथि बजि्रन्छिन्
अझै
हिउँका चम्का जोडेर
खोक्तै आगो फुकिरहेकिछिन्
बूढी आमै ।

No comments: