कहाँ छ र घर

मिर्मिरे च्यातेर
नरमाइलोसँग रोइरहेको बलेंसीमुनी
यौटा प्वाँखको चीनो छोडेर
युगल जोडी छुट्टिएर
आफ्नो गुँड बिसएर
कहाँ जान्छन् यी चराहरु


कठाङ्ग्रिरहेको रुखको हाँगामा
चुच्चोले ठुँगेको आलो बोक्रो
सम्पूर्ण घाउ छोपेर
आर्तनाद् लुकाउने रुख रित्याउँदै
कहाँ जान्छन् यी चराहरु

गँुड भत्किएर
रुखको फेदभरि बचेरा
भोको आतंक उकेलिरहेछन्
उमि्रनु अगावै चुँडिएका प्वाँखहरु
घाइते आशामा
आँ…आँ…। गर्दै
माउ खोजिरहने बचेरा छोडेर
मान्छे ननिदाएका
मान्छे नब्युँझिएका
शिथिल बस्तीको माथि हुँदै
कहाँ जान्छन् यी चराहरु

निर्मोही हावामा बग्दै
पर्खिरहेको रुखको हाँगा
फैलिएर याचना माग्ने
बस्ती रित्याउँदै
विवेकशुन्य बनेर
कसैले नदेख्नेगरी भागेर
कहाँ जान्छन् यी चराहरु


No comments: