साहिँली ब्युझन

ए  साहिँली ब्युझन
आज तिम्रो जन्मदिनको रात हो यो
बादल बैंशले पट्ट फूटेर
बृष्टि भएको बिहान हो यो

तिम्रो दीर्घायूको कामना उचालेर गाएको गीतले
तिम्रै आगमनको स्वागत गर्दा
आफैं लुछिएकी छ्यौ
तिम्रो जन्मदिनमा बालेका बत्तीहरुले
आफैं पोलिएकी छ्यौ
एक हत्केलो आकाश उचाल्न
एक फूट धर्ती बोक्न
हार र जीत नभएको युद्ध गरिरहेछौ
परिचय पाउन नसक्ने नामबाट ।

छाउपडीभित्र कति लुकिरहन्छ्यौ
सुकोमल किशोरी बन्न
उन्माद् र मादकतामा
आँसुले भिजेका खोल ओढेर ।

एकटुक्रा इतिहासको बीचमा
उज्यालो हुन नसकेको
उद्धिग्न रातको परपीडा
बिहानी किरणका प्रुेमभित्र जूठो बारेर
आफैंलाई नचिन्ने धर्मभिरुहरु
आफैंलाई देखेर गर्व गरिरहेछन् ।

गुन्युले बेरेर तिम्रो अस्तित्व
जिउँदो पूल्ठोको लप्का धुवाँइरहेको छ
तिम्रो जन्मदिनमा मृत्युको बाजा बजाएर
तिमै्र इन्द्रियहरु पिल्स्याइएका छन्
फगत बाँचेका अस्तित्वहरु
स्वादमा कति चाट्छन् हँ
बिना बन्दुक
बिना सम्झौता
बाङ्साङ्गे झुपडीबाट छाउपडी भत्काउँदै
पीडाबोधमा ब्युँझने बिहानसँगै
हार या जीत बोकेर
युद्धको आँगनमा जाउँ है साहिँली ।

No comments: